शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको रुपरत्न मेमोरियल बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको आइतबार निःशूल्क दाँत परीक्षण शिविर गरिनुका साथै उपचार गराइएको छ ।

 

अर्जुनधारा ८ शनिश्चरेमा रहेको आरोग्य डेन्टल हेल्थ क्लिनिक र आरोग्य मल्टी स्पेशलिस्ट बिर्तामोडको प्राविधिक सहयोगमा कक्षा २, ३ र १० मा अध्ययनरत विद्यार्थीको दाँत परीक्षण गरिएको स्कुलकी संयोजक नम्रता गिरीले जानकारी दिइन् ।

 

आरोग्यका डा. रितिश शिवाकोटी र डा. स्नेहा खड्कासहित ६ जनाको चिकित्सक टोलीले विद्यार्थीको दाँत परीक्षण गरेका थिए । यस्तै, २० जना विद्यार्थीका अभिभावकको पनि दाँत परीक्षण गरिएको बताइएको छ ।

 

 

दाँत परीक्षणका क्रममा ९ जनाको दाँत फुकालिएको थियो भने केही विद्यार्थीमा दाँतको समस्या देखिएकाले रेफर गरिएको छ । रेफर गरिएको विद्यार्थीको उपचारमा आरोग्यले २० प्रतिशत छुट गर्ने डा. शिवाकोटीले बताए ।

 

यसैगरी, सोही शिविरमा अर्जुनधारा ७ को शंकर हस्पिटलले निःशूल्करुपमा ओपीडी सेवा सञ्चालन गरेका थियो । हस्पिटलका प्रबन्ध निर्देशक सुजन शिवाकोटी, डा. इन्द्र शाह र रेनुका राजवंशीसहितको टोलीले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका थिए ।

 

स्वास्थ्य परीक्षणपछि रेफर गरिएका विद्यार्थीलाई शंकर हस्पिटलले २० प्रतिशत छुटमा उपचार उपलब्ध गराउने प्रबन्ध निर्देशक शिवाकोटीले बताए । दुवै स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा उपलब्ध गराएको बताइएको छ ।

 

दाँत तथा स्वास्थ्य परीक्षण स्कुलका सबै कक्षाका विद्यार्थीलाई लक्षित भए पनि समय अभावका कारण ३ वटा कक्षाका विद्यार्थीलाई मात्र सहभागी गराइएको संयोजक गिरीले बताइन् । उनका अनुसार अन्य विद्यार्थीका लागि फेरि स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।

 

स्कुलले यसअघि मेची आँखा उपचार केन्द्र बिर्तामोडको प्राविधिक सहयोगमा विद्यालयमा नेत्र परीक्षण शिविर तथा आवश्यक चश्मा वितरण गरेको थियो ।