बिर्तामोड । झापाको बिर्तामोडमा बिहीबारदेखि प्रदेश १ स्तरीय स्नुकर च्याम्पियनसिप २०८० सुरु भएको छ । बिर्तामोड स्नुकरले आयोजना गरेको प्रतियोगितामा ९६ जना प्रतिस्पर्धी छन् ।
प्रदेशका ८ जिल्ला सहभागी प्रतियोगिताको उद्घाटन पूर्व खेलाडी चित्रप्रकाश राईले एक कार्यक्रमका बीच गरे । उनले सन् १९९९ मा मेचीमै पहिलोपटक स्नुकर बिर्तामोडमा भित्र्याएका थिए । चित्रप्रकाशसँगै सञ्जय राई र पूर्ण सुब्बाले बिर्तामोडमा हार्ड रक्स स्नुकर सञ्चालन गरेका थिए ।
प्रतियोगितामा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, भोजपुर र उदयपुरका खेलाडी सहभागी रहेको आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५१ हजार र ट्रफी पाउने छन् ।
यसैगरी, रनरअपले नगद २५ हजार र ट्रफी पाउँदा हाइएस्ट ब्रेकर र बेस्ट प्लेयरले जनही १० हजार र ट्रफी पाउने छन् । प्रतियोगितामा झापाका मात्र ५२ जना सहभागी छन् ।
आवास सुविधासमेत दिइएको प्रतियोगिताको सेमिफाइनल खेलबाट बाहिरिने दुई खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको सहभागी तथा झापा जिल्ला बास्केट बल संघका अध्यक्ष प्रकाश लिङदेनले जानकारी दिए । उनीहरुले जनही ५ हजार पाउने छन् ।
कार्यक्रममा पुराना खेलाडी तथा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मालगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन युवा व्यवसायी कुशल खतिवडाले गरेका थिए ।