काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडीहरुको फेरि लिलामी हुने भएको छ ।

 

विवादका कारण पटक-पटक लिगको मिति सर्दा दोस्रो संस्करणका लागि लिलाममार्फत क्लबमा बिक्री भएका अधिकांश मुख्य खेलाडीहरु विदेश पलायन भएपछि फेरि लिलामी गर्न लागिएको हो ।

 

खेलाडीहरुको फेरि लिलामी हुने मिति भने आउँदो असोजमा तय हुने बताइएको छ । त्यस्तै विदेशमा रहेका खेलाडीहरुले लिग खेल्न इच्छुक देखिए फेरि लिलामीमा आफ्नो नाम समावेश गर्न सकिने पनि बताइएको छ ।

 

त्यसैगरी एउटा क्लबले ६ विदेशी खेलाडीहरुलाई अनुवन्ध गर्न पाउने र क्लबको मार्की खेलाडीमा पनि विदेशी खेलाडी राख्न पाउने बताइएको छ ।

 

यसपटक लिगका खेलहरु दशरथ रंगशालाबाहेक विराटनगरस्थित सहिद रंगशालामा पनि हुने बताइएको छ । साथै लिग अवधिभर फ्यान अफ द म्याच र फ्यान अफ द टुर्नामेन्ट पुरस्कार पनि राखिने आयोजकले जनाएको छ ।

 

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने लिगको दोस्रो संस्करण आउँदो मंसिर ९ गतेदेखि शुरु हुने घोषणा गरिएको छ । लिगको उद्घाटन कार्यक्रममा पोर्चुगलका लिजेण्डरी फुटबलर लुइस फिगो आउने चर्चा पनि छ ।