शनिश्चरे । झापाको अर्जुनधारामा शुक्रबारबाट प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । अर्जुनधारा ११ स्थित देउनिया खेलमैदानमा आयोजित प्रतियोगितामा पहिलो दिन ८ टोलीले विजयी सुरुवात गरे ।
सालबारी-मिलडाँडा युवा परिवार अर्जुनधारा ११ द्वारा आयोजित प्रतियोगितामा १६ टोली सहभागी छन् । उद्घाटन खेलमा बिर्तामोडले भद्रपुरको टोलीलाई पराजित गर्यो ।
यस्तै, शनिश्चरे अनुपस्थित भएपछि थुम्बेदिन ताप्लेजुङले वाकओभर पाउँदै दोस्रो चरणमा प्रवेश गर्दा मेचीनगरको सनलाइटले दमकलाई सोझो सेटमा पराजित गर्यो । यसैगरी, झापा गाउँपालिका र लक्ष्मीपुरको टिम अनुपस्थित हुँदा आयोजकको बी र सी टिमले वाकओभर पाए ।
यस्तै, शिवसताक्षी अनुपस्थित भएपछि सेतीपानीले पनि वाकओभर पायो । कनकाईको लालपानीमाथि आयोजकको ए टिमले जित दर्ता गरे पनि उजुरीका कारण पराजित व्यहोरेको छ । आयोजकका एक खेलाडीले मुख्यमन्त्री कपमा प्रतिस्पर्धा गरेको प्रमाणित भएपछि हार स्वीकार्न बाध्य बन्यो ।
शनिबार हुने फाइनल खेलको विजेताले नगद २१ हजार र ट्रफी तथा उपविजेताले नगद ११ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष देवेन्द्र विश्वकर्माले जानकारी दिए । दुवै ट्रफी मनिराज जबेगु सेवा समाज अर्जुनधारा १० र ११ ले प्रायोजन गरेको क्लबका सल्लाहकार किरण जबेगुले जनाए ।
प्रतियोगिताको बेस्ट प्लेयर, स्पाइकर, डिफेन्डर, लिफ्टर, ब्लकर, लिब्रो र सर्भरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकका सचिव महेन्द्र सुवेदीले बताए । प्रतियोगिताको उद्घाटन अर्जुनधारा ११ नम्बर वडाका अध्यक्ष खगेन्द्र इङ्नाले गरेका थिए । कार्यक्रमको सञ्चालन चन्द्र सुवेदीले गरेका थिए ।
