शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिताको उपाधि मेचीनगरको सनलाइट भलिबल टिमले जितेको छ ।

 

प्रतिस्पर्धी रमिते भलिबल टिम झापालाई २५-२३, १४-२५ र १५-९ अंकको सेटमा पराजित गर्दै मेचीनगरले उपाधि उचालेको हो । मेचीनगरले नगद २१ हजारसहित ट्रफी प्राप्त गर्यो ।

 

यस्तै, रमिते भलिबल टिमले नगद ११ हजार र ट्रफीमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी मेचीनगरका जीवन घिमिरे बने । उनले बाल्ट्रा कम्पनीको स्ट्याण्ड फेन पाए ।

 

सालबारी मिलडाँडा युवा परिवार अर्जुनधारा ११ ले आयोजना गरेको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेचीनगरले थुम्बेदिन भलिबल टिमलाई २१-२५, २५-१६ र १७-१५ अंकको सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

 

यस्तै, अन्तिम सेमिफाइनल खेलमा रमितेले २५-१८ र २५-२२ को सोझो सेटमा लालपानी भलिबल टिम कनकाईलाई पराजित गरेर उपाधि नजिक पुगेको थियो ।

 

 

फाइनल खेलका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले जुनसुकै खेलले युवालाई अनुशासित बनाउन मद्दत पुग्ने बताए । उनले युवालाई लक्षित गरेर ल्याइएको योजनामा नगर सहकार्य गर्न तयार रहेको पनि सुनाए ।

 

अर्जुनधारा ११ स्थित देउनिया खेलमैदानलाई नमुना खेलमैदानको रुपमा विकास गर्न सबै एकजुट हुनुपर्नेमा उनको जाड थियो । कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, ११ वटै वडाका अध्यक्ष, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, महारानीगञ्ज मावि व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला, लक्ष्मी मावि व्यवस्थापन सििमतका अध्यक्ष वीरबहादुर राई, आयोजकका अध्यक्ष देवेन्द्र विश्वकर्मा, सल्लाहकार संयोजक किरण जवेगु, सचिव महेन्द्र सुवेदी, प्रहरी सहायक निरीक्षक मुक्ति अधिकारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

आयोजकका सदस्य चन्द्र सुवेदीले सञ्चालन गरेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङलगायतका १६ टिमको सहभागिता रहेको थियो ।