ताप्लेजुङ । पाथीभरा गोल्डकपको साविक विजेता गोर्खा स्पोर्टिङ क्लब दमकमाथि स्पष्ट जित निकाल्दै इलामको रेडहर्ष एफसी यहाँ जारी प्रथम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय भानुजन माविको खेलमैदानमा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा दमकमाथि २-० गोलको जित निकाल्दै इलामले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

खेलको १० मिनेटमै युवराज राईले गोल गर्दै इलामका लागि अग्रता बनाएका थिए । यसैगरी खेलको ५९औँ मिनेटमा आशिष राईले गोल गर्दै इलामको अग्रता दोब्बर बनाएका हुन् ।

 

खेलको म्यान अफ दी म्याच इलामका आशिष राई घोषित भए । उनले आयोजकका तर्फबाट नगद ५ हजार पाउन सफल भए । शनिबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबले मोरङको पथरी ११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद तीन लाख ११ हजार १११ र एक लाख ५१ हजार १११ सहित ट्रफी पाउनेछ ।