झापा । अर्जुनधाराका प्रदिप विश्वकर्माले काठमाडौँमा आयोजित ११औँ कोरियन एम्बासेडर खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा झापा अर्जुनधाराका प्रदिपले स्वर्ण जितेका हुन् ।
अर्जुनधारा नगरपालिकाबाट सूर्योदय तेक्वान्दो डोजाङको नेतृत्वमा सहभागी खेलाडीमध्ये प्रदिप विश्वकर्माले जुनियर ६३ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
इटहरीका सञ्जाल श्रेष्ठलाई फाइनलमा हराउँदै प्रदिप पहिलो भएका हुन् । विशान्त केसी र सोनम लामाले तेस्रो स्थान हात पारे ।
अर्जुनधारा नगर तेक्वान्दो विकास समितिका अध्यक्ष तथा प्रशिक्षक दिपेन दनुवारका अनुसार अर्जुनधाराबाट ७ खेलाडी सहभागी थिए । झापा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष कुमार भट्टराईले राष्ट्रमा नगरसँगै झापा जिल्लाको नाम राख्न सफल भएको भन्दै शुभकामना दिएका छन् ।
उनले भनेका छन्, ‘खेलको अनुशासनभित्र रहेर अन्तर्राष्ट्रिय रुपमा पदक ल्याउन र ख्याति कमाउन सफलता मिलोस् । आर्शीवाद छ ।’