झापा । काठमाडौँमा आयोजित एघारौं कोरियन एम्बास्डर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा झापा बुद्धशान्तिका खेलाडीले एक स्वर्णसहित रजत र कास्य पदक जित्न सफल भएका छन् ।

 

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा जयपुर तेक्वान्दो डोजाङबाट सहभागी रेश्मा भुजेलले ५२ जना प्रतियोगिलाई पछि पार्दै ४९ केजी तौल समूहकाे फाइट गेरोगीमा स्वर्ण पदक जितेकी हुन् ।

 

त्यस्तै पुंसे विधामा खुशी गौतम, आर्जु पोख्रेल र आयुषा बोहोराले रजत पदक जितेका छन् भने निर्मला रसाइली, पेसल बोहोरा र एन्जिला दर्जीले कास्य पदक हासिल गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा जयपुर तेक्वान्दो डोजाङका प्रशिक्षक चन्द्र गौतमले जानकारी दिए ।

 

प्रशिक्षक गौतमका अनुसार ८ जना खेलाडी प्रतियोगितामा सहभगी थिए । जसमा रेश्माले फाइट गेरोगीमा स्वर्ण पदक जितिन् भने अन्य तीन-तीन खेलाडीले पुंसे विधामा रजत र कास्य पदक जितेका हुन् ।