शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको १७औं स्थापना दिवस विविध कार्यक्रमका साथ मंगलबार मनाइएको छ ।

 

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष हेमप्रसाद खरेलको अध्यक्षतामा तथा संविधान सभा सदस्य प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाइएको हो ।

 

कार्यक्रममा क्याम्पसको वार्षिक मुखपत्र ‘शनिप्रभा’को विमोचन गरिएको थियो । त्यस्तै संस्थापक क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यसहित १६ जना, संस्थापक प्राध्यापक पाँच जना, संस्थापक स्नातक उपाधि प्राप्त गर्ने विद्यार्थी ५० जना र अक्षयकोषदाता १४ जनालाई सम्मान गरिएको थियो ।

 

यसरी सम्मानित हुने संस्थापक प्राध्यापकहरुतर्फ कमलकान्त पौडेल, तिलचन ढुंगेल, नविन ओली, नारायणप्रसाद पौडेल र सुरेन्द्र दाहाल तथा संस्थापक विद्यार्थीहरुतर्फ दमन्ता गड्तौला, बबिता गौतम, मञ्जुकुमारी दाहाल, रुद्रप्रसाद खतिवडालगायत रहेका छन् ।

 

सोही कार्यक्रममा संकायतर्फ उत्कृष्ट अंक प्राप्त गरि उत्तीर्ण हुने विद्यार्थी व्यवस्थापन पहिलो वर्षका सुलभ तिम्सिना, शिक्षाशास्त्र पहिलो वर्षकी मन्जिला बस्याल, व्यवस्थापन दोस्रो वर्षका समीर भट्टराई, शिक्षाशास्त्र दोस्रो वर्षकी खेमकुमारी थापा, व्यवस्थापन तेस्रो वर्षका मनिष आचार्य र शिक्षाशास्त्र चौथो वर्षका हेमराज रिमाललाई जनही नगद चार हजारसहित पुरस्कृत गरियो ।

 

विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख फडिन्द्र खत्री, वडाध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले कार्यक्रमको औचित्यसहित क्याम्पसको वर्तमान गतिविधिबारे जानकारी गराएको उक्त कार्यक्रममा स्वागत समितिका सदस्य लवकुश गिरीले र कार्यक्रमको सञ्चालन प्राध्यापक सुरेन्द्र दाहालले गरेका थिए ।