झापा (एजेन्सी) । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ ।

 

समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४-१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको हो । नेपालले सेमिफाइनल जितेमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३७-२४ ले हराउँदै नेपालले अघिल्लो चरणको यात्रा बलियो बनाएको थियो । साविक विजेता समेत रहेको इरानसँग नेपालले मंगलबार ४३-१९ को हार बेहोरेको थियो ।

 

अब नेपालले सेमिफाइनलमा भारत वा चाइनिज ताइपेइमध्ये एक टोलीसँग खेल्नेछ । बुधबार साँझ समूह ए को बाँकी खेल सम्पन्न भएपछि नेपालको प्रतिद्वन्द्वी थाहा हुनेछ । सेमिफाइनल खेल शुक्रबार बिहान हुनेछ ।

 

नेपाली कबड्डी टोलीले सरकारबाट प्राथमिकता नपाउँदा निकै कष्ट गरेर तयारी गरेको थियो । पछिल्लो एक महिना भारतको हरियाणा पुगेर धर्मशालामा प्रशिक्षण गरेको टोली नेपालका लागि पहिलो एसियाली खेलकुद सहभागितामै पदक जित्न सफल भएको हो ।

 

टिममा मोरङ जहदाकी मेनुकाकुमारी राजवंशी कप्तान रहेकी छिन् भने झापाकी अनुजा कुलुङ राईसहित मानमति विष्ट, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलाव पन्त रहेका छन् ।