मानेभञ्याङ (भारत) । जर्जियन एफसी कािलम्पोङ ७औँ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेकोे छ । १२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकत्तालाई ७-५ गोल अन्तरले हराउँदै कालेम्पोङले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
खेलका सुरुवाती अग्रता कालेम्पोङले बनाएको थियो । ७औँ मिनेटमा कुन्जमान थापाले पहिलो गोल गरेका थिए । ४ मिनेट नबित्दै उनले व्यक्तिगत दोश्रो गोल गरे । २३औँ मिनेटमा बसन्त राईले गोल गरेपछि कालिम्पोङले अग्रता ३-० बनाएको थियो ।
३२औँ मिनेटमा कोलकत्ताका मिथुन शाहले गोल गर्दै अन्तर ३-१ मा झारे । ४५औँ मिनेटमा कालिम्पोङका सिलास लेप्चाले गोल गरे । २ मिनेट नबित्दै मिथुनले व्यक्तिगत दोश्रो गोल गरेपछि अन्तर ४-२ मा झरेको थियो । ४९औँ मिनेटमा कुन्जमानले ह्रयाट्रिक पूरा गरे । २ मिनेटलगतै कुन्जमानले व्यक्तिगत चौथो गोल गरेपछि कालिम्पोङले गोल अन्तर ६-२ बनाउन सफल रह्यो ।
कप्तान प्रनभ मुखियाले ५४औँ मिनेटमा कालिम्पोङका लागि सातौँ गोल गरे । त्यसपछि कोलकत्ताले खेलमा फर्कने प्रयास गरेको थियो । यसैबीच, ६०औँ मिनेटमा मिथुनले ह्रयाट्रिक पूरा गरे । ७०औँ मिनेटमा मिथुनले व्यक्तिगत चौथो गोल गरे । इन्जुरी समयमा सव्स्टिच्युट खेलाडी बपन बेराले गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन् ।
खेलको म्यान अफ दि म्याच विजेता टोलीका कुन्जमान घोषित भए । प्रतियोगितामा शुक्रबार पहिलो खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुर र मोहम्मडन एथ्लेटिक क्लब कोलकत्ताबीच हुनेछ ।