भारत । सातौँ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् ।
आज सम्पन्न दोश्रो सेमिफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक बने ।
उनले आर्मीका लागि २ गोल गरे । ३६औ मिनेटमा पहिलो गोल गरेका उनले ४१औ मिनेटमा अग्रता दोब्बर बनाए । चाँदका लागि प्रविक तामाङले ५६औ मिनेटमा सान्त्वना गोल फर्काए । जितसंगै आर्मीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको छ ।
जलपाइगुडीले बुधबार भएको पहिलो सेमिफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७–२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
आगामी अक्टोबर १५ (असोज २८) मा हुने फाइनल खेलको बिजेताले ८ लाख (५ लाख भारु) र उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।