काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओससँग बराबरी खेलेको छ । बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १-१ गोलको बराबरी खेलेको हो ।
विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो लेगमा अग्रता लिने अवसर भने गुमाएको छ । बिहीबारको दिन फरवार्ड अन्जन विष्टले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान भने बराबरी गरेका छन् ।
उनले नेपालका लागि हरि खड्का र निराजन रायमाझीले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १३ गोलको कीर्तिमानलाई बराबरी गरेका हुन् ।
पाहुना टोली लाओसले खेलको ३३औं मिनेटमा सुरुआती अग्रता बनाएको थियो । लाओसका लागि कप्तान बोनफाचन बौकोङ्गले नेपाली डिफेन्डरलाई बिट गर्दै खेलमा खाता खोलेका थिए ।
पहिलो हाफमा नेपाल १-० ले पछि परेको थियो । दोस्रो हाफमा नेपाल अन्जन विष्टको गोलमा खेलमा फर्किएको थियो । अन्जनले खेलको ४७औं मिनेटमा कर्नर बललाई सदुपयोग गर्दै हेडमार्फत बराबरी गोल गरेका थिए । नेपालले दोस्रो लेग अब लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा खेल्नेछ ।
एसियाली टोलीहरु मध्यको वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।