झापा । नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आई लिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३-०२४) को लागि शनिबार सम्झौता नवीकरण गरेकी छिन् ।
गत सिजन समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् । ‘आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ,’ एन्जिलाले भनिन्, ‘अघिल्लो पटक सोचेजस्तो भएन । यसपटक च्याम्पियन हुने योजना छ ।’ सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ । दुईबीच भएको सम्झौता गोप्य राखिएको छ ।
एन्जिलाको आईलिगमा दोस्रो संस्करण हो । अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित रहेको थियो । एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।
आईलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा गोकुलम केरलासँग खेल्नेछ । दोस्रो खेल भने इस्ट बंगालसँग रहेको छ । गत सिजन सावित्रा भण्डारी सम्मिलित गोकुलम च्याम्पियन भएको थियो ।
यसपटक सात टोलीमात्रै लिगमा हुनेछन् । गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इस्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसाले सहभागिता जनाउनेछन् । लिग मार्चसम्म चल्नेछ ।