काठमाण्डौ । आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । विश्वकपमा पुग्नका लागि युएईमाथि नेपाललाई जित्नैपर्ने दबाब छ ।

 

खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् ।

 

नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन । नेपाल र यूएईबीच ८ वटा टी-२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

 

यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सि आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।