झापा । चर्चित नेपाली फुटबलर आभाष लामिछाने नेपाल सुपर लिग (एनएसएल)को आइकोनिक खेलाडीको रुपमा झापा एफसीमा अनुबन्धित भएका छन् ।

 

आभाष लामिछानेलाई आगामी एनएसएलका लागि आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गर्न पाउँदा उत्साहित भएको झापा एफसीले जनाएको छ । प्रभावशाली करियरका साथ उच्च क्षमतावान फुटबलर लामिछानेले आफ्नो असाधारण कौशल र अनुभव झापा एफसीमा ल्याएर लिगमा टोलीको सम्भावना बढाउने दाबी गरिएको छ ।

 

नेपाली राष्ट्रिय टोलीका लागि ९ क्याप जितिसकेका लामिछानेले मैदानमा आफूलाई प्रभावशाली खेलाडीको रूपमा प्रमाणित गरेका छन् । उनको उल्लेखनीय उपलब्धि र खेलप्रतिको समर्पणले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मान्यता दिएको बताइएको छ। तर, पारिवारिक समस्याका कारण उनी विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा सामेल हुन सकेका थिएनन्।

 

आभाष लामिछानेले नयाँ अवसरप्रति उत्साह व्यक्त गर्दै भने, ‘झापा एफसीमा आबद्ध भएर नेपालको फुटबलको विकासमा योगदान पुर्‍याउन पाउँदा म गौरवान्वित छु। एनएसएल उत्कृष्ट मञ्च हो, र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु ।’

 

यो महत्वपूर्ण सम्झौताबाट झापा एफसीको व्यवस्थापन पनि उत्तिकै उत्साहित रहेको जनाएको छ । क्लबका प्रवक्ता सुजन गौतमले भने, ‘आभाष लामिछानेलाई हाम्रो आइकोनिक खेलाडीको रूपमा टिममा पाउँदा हामी खुसी छौं। उनको अनुभव, सीप र खेलप्रतिको प्रतिबद्धताले नेपाल सुपर लिगको सफलताको हाम्रो दृष्टिकोणसँग पूर्णरूपमा मेल खान्छ। हामी लामिछानेलाई विश्वास गर्छौं। हाम्रो टोलीको लागि उनी महत्वपूर्ण सम्पत्ति हुनेछन्।’

 

झापा एफसीले स्पोर्टिङ डी ईलामसँग मंसिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूवात गर्नेछ । एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुँदैछ ।