शनिश्चरे । कभर्ड हल निर्माण गर्ने उद्देश्य लिएर झापाको अर्जुनधारामा प्रथम मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । नेपाल, भारत र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता दुई दिने रहने छ ।

 

बाह्रघरे कराते डोजोको आयोजनामा अर्जुनधारा ९ स्थित आधारभूत विद्यालयको खेल मैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो । डोजोका अध्यक्ष नारदमणि नेपालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले गरेका हुन् ।

 

मेयर गोम्देनले खेलले खेलाडीको खेल कौशलमात्र नभएर स्वास्थ्यमा पनि सकारात्मक नतिजा दिने बताए । खेलमा लागेका युवाका कारण समाजमै प्रभावकारी सन्देश जाने बताउँदै राम्रो उद्देश्यले आयोजित प्रतियोगितामा सहयोग रहने उनले बताए ।

 

प्रतियोगितामा तीन जना खेलाडीलाई अध्ययनका लागि व्यवस्था गर्ने पनि उनले घोषण गरे । कराते खेल्दै गरेका विपन्न परिवारका तीन जना खेलाडीलाई राम्रो विद्यालयमा अध्ययनको व्यवस्था गर्ने उनको भनाइ थियो ।

 

नेपाल कराते महासंघ झापाको प्राविधिक सहयोग रहेको प्रतियोगितामा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले खेलले व्यक्तिलाई नैतिकवान र अनुशासित बनाउने उल्लेख गरे । एसियन रेफ्रीसमेत रहेका वडाध्यक्ष उप्रेतीले खेलले विश्वसामु राष्ट्रको शिर उचो राख्ने पनि बताए ।

 

डोजोका प्रमुख प्रशिक्षक हेमलाल परियारका अनुसार तीन देशका करिब ५ सय जना खेलाडीले सहभागिता जनाएका छन् । आयोजक डोजोसँगै झापा, इलाम, सुनसरी र मोरङका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

प्रतियोगितामा पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६०ं तथा महिलातर्फ २५, ३०, ३५, ४०, ४२, ४७, ५२, ५७, ६०, र ६०ं तौल समूहमा खेलाडीहरुले प्रतिष्पर्धा गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख ४० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ ।