शनिश्चरे । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिगका लागि अर्जुनधारा नगरपालिकाको तर्फबाट खेलाडी छनौट गरिएको छ ।
भद्रपुर झापा गोल्डकपले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताका अर्जुनधाराले २० सदस्यीय टोली छनौट गरेको हो ।
अर्जुनधारा ७ स्थित खेलमैदानमा आज (सोमबार) भएको छनौटमा ४८ जना नगरभित्रका खेलाडी सहभागी थिए । टोलीको व्यवस्थापन सम्हालेका टेकराज तिलिङका अनुसार छनौटमा परेका खेलाडीलाई एक साता तालिम दिइने छ ।
प्रशिक्षक पुष्प मादेनका अनुसार टोलीको गोलकिपरमा अनुप गोले, निकेश यादव र चन्द्रकुमार सेन्च्युरी छनौट भएका छन् भने डिफेन्समा मिलन मेचे, शान्तिराम बस्नेत, अभिषेक तामाङ, अनिष राई, पुजन श्रेष्ठ र सचिन श्रेष्ठ रहेका छन् ।
यस्तै, फरवार्डमा निखिल तामाङ, राजेश दाहाल, किर्तन बिसुंखे, गणेश गजमेर, बचन लिम्बू र प्रतिक कन्दङ्वा छन् भने मिडफिल्डमा सागर मगर, सौगात गोम्देन, तेज तामाङ (बादल), प्रविण विश्वकर्मा र बाबुराम धिमाल छनौट भएका छन् ।
छनौटका लागि सहभागी खेलाडीलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले फुटबल प्रशिक्षणका बारेमा जानकारी गराएका थिए । अर्जुनधाराले पहिलाे खेल शिवसताक्षी नगरपालिकासँग मंसिर ११ गते खेल्नेछ ।
यही मंसिर ७ गतेदेखि झापा लिग सुरु हुँदैछ । भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।
त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।