शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित सालबारीमा रहेको महारानीगञ्ज माविले ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरमावि फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।

 

महारानीगञ्ज मावि बाल क्लबको आयोजनामा स्व कृष्णप्रसाद डाँगी स्मृति अर्जुनधारा नगरपालिका अन्तरमावि नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । विद्यालयले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

 

प्रतियोगिताको उद्घाटन खेलमा महारानीगञ्ज माविले लक्ष्मी माविसँग खेल्ने छ । यस्तै, शनिश्चरे माविले सिंहदेवी मावि, भानु माविले अर्जुनधारा मावि र जनता माविले कालिस्थान माविसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । तालिकाअनुसार सेमिफाइनल खेल १० र ११ गते हुनेछ भने फाइनल खेल माघ १५ गते हुनेछ ।

 

विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूका अनुसार प्रतियोगितामा अर्जुनधारा नगरभित्र रहेका विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । सालबारी निवासी अरुणकुमार डाँगीले प्रायोजन गर्ने प्रतियोगिताको विजेताले नगद २० हजार र ट्रफी पाउने विद्यालयका शिक्षक प्रदिपकुमार बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार उपविजेताले नगद १० हजारमा चित्त बुझाउनु पर्नेछ । म्यान अफ दी म्याच र उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न १ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, विद्यालयका प्रअ लिम्बूलगायतले फुटबल प्रतियोगिताले विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा टेवा पुग्ने बताएका ।

 

स्व. डाँगीको परिवारलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताको आयोजनालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिन वक्ताहरुले अनुरोध गरेका थिए ।