इलाम । उपाधिको दाबेदार पाँचथर एफसीलाई हराउँदै झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

ठुलो टुँडिखेलमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दै बिर्तामोड उपाधि होडमा उक्लिएको हो । पाँचथरलाई ४-२ गोलअन्तरमा बिर्तामोडले पाखा लगायो ।

 

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो । पाँचथरका अशोक खवासको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले रोक्दा बिजु भुजेलको प्रहार बाहिरिएको थियो ।

 

पाँचथरका लागि साइमन लिम्बू र सुदिप श्रेष्ठको प्रहारमात्र गोलमा परिणत भएका थियो । बिर्तामोडका विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए ।

 

तर, एन्जल गुरुङ, दिवस उराव, रोहन कार्की र प्रदिप बुढाथोकीको प्रहार गोलमा परिणत भएपछि बिर्तामोडले कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ । खेलको म्यान अफ दी म्याच बिर्तामोडका सञ्जित राई घोषित भए । उनले नगद ५ हजार पाए ।

 

माघ १३ गते बिर्तामोडले काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । रेडहर्स एफसीले आयोजना गरेको गोल्डकपको विजेताले नगद ५ लाख र ट्रफी पाउने छ ।