इलाम । उपाधिको दाबेदार मानिएको झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी ओएसिस महिला गोल्डकपमा भारतको पटना एफसीमाथि गोलवर्षा गरेको छ ।

 

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोडले पाहुना टोली पटना एफसीमाथि ५-० गाेलकाे फराकिलाे गाेलअन्तरमा जित दर्ता गर्याे । पटनाको पोस्टमा बिर्तामाेडले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गरेको हो ।

 

बिर्तामोडका लागि समिक्षा मगरले ह्याट्रिक पूरा गरिन् । यस्तै, सिमरन राई र मनिका घलेको नाममा १-१ गोल रह्यो । खेल प्रतिस्पर्धात्मक भए पनि पटनाकाे अग्रपंक्ति चल्न सकेन भने बिर्तामाेडकाे टिममा राष्ट्रिय खेलाडी पनि भएकाले पनि सहज जित दर्ता भएकाे हाे ।

 

पहिलो हाफमा एकोहोरो दबाब सिर्जना गरेको बिर्तामोडविरुद्ध दोस्रो हाफमा पटना एफसी केही सम्हालिएर खेलेको थियो । तर, गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै बिर्तामोडले गोलवर्षा गरेको हो ।

 

बिर्तामोडका लागि समिक्षा मगरले खेलको ३ मिनेटमै गोल गरेकी थिइन् । पुष्पा राईको फ्रिकिकमा रिबाउन्ड बललाई समिक्षाले गोलपोस्टको दिशा दिएकी थिइन् ।

 

उनैले दोस्रो हाफको १७औँ र २४औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । यसअघि पहिलो हाफको १४औँ मिनेटमा सिमरन राईले गोल गरेकी थिइन् भने १६औँ मिनेटमा मनिका घलेले रित्ता पोस्ट गरेकी हुन् ।

 

बिर्तामोडको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ । यसअघि इलामको दिपेन्द्र शिखर एफसी, मानेभञ्ज्याङ एफसी र सप्तरीको नमो बुद्ध विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

 

खेलकाे वुमन अफ दी म्याच बिर्तामाेडकी समिक्षा मगर भइन् । उनले नगद २ हजार पाइन् । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।