झापा । सिमावर्ती नगरपालिका मेचीनगर १ निन्दास्थित बाल विकास आधारभूत विद्यालयमा स्थानीय समुदायको सहयोगमा सार्वजनिक पुस्तकालय सञ्चालन भएको छ ।

 

कक्षा ८ सम्म अध्यापन हुने उक्त विद्यालयको एउटा कोठामा सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याइएको हो । विशेष गरेर कोरियामा रहेकी कवियत्री दिपा मेवाहाङ राईको पहलमा पुस्तकालय निर्माणका लागि १ लाख १३ हजारसहित १ लाख ४६ हजार ३०५ रुपैयाँको लागतमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

 

पुस्तकालयका लागि स्थानीय कविर दुलाल, कुलचन्द्र तामाङ, मणिकुमार स्याङ्बो, निश्चल तामाङ, सुशिल राई, रविन मंग्राती, कुमार तामाङ (पृथक), अमित कार्की र सन्तोष कँडेलले पनि आर्थिक सहयोग प्रदान गरेको सहयोग संकलन समितिका संयोजक अर्पण राईले जानकारी दिए ।

 

उनका अनुसार उक्त पुस्तकालयको उद्घाटन सरस्वती पूजाको अवसर पारेर वडाध्यक्ष रामकुमार राईले गरेका थिए । उक्त पुस्तकालयमा एक हजार एक सयभन्दा बढी पुस्तक दाताबाट संकलन गरिएको छ ।

 

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मात्र नभएर स्थानीय अभिभावकका लागि लाभदायी हुने अपेक्षासहित सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।