शनिश्चरे । झापाका १५ वटा पालिकाबीच भएको झापा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा अर्जुनधारा नगरपालिका फेरि च्याम्पियन बनेको छ ।

 

अर्जुनधाराको विभिन्न ५ स्थानमा भएको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा नगरपालिका दोस्रो पटक च्याम्पियन बनेको हो । झापा जिल्लास्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा पनि अर्जुनधारा च्याम्पियन बनेकाे थियाे । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र १२ कास्यसहित रनिङ शिल्ड उचालेको हो ।

 

अर्जुनधाराले सबैभन्दा बढी एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ३ कास्य, करातेमा ४ स्वर्ण र १ कास्य, तेक्वान्दोमा ३ स्वर्ण, ६ रजत र ३ कास्य पदक पाएको थियो । यस्तै, उसुमा १ स्वर्ण, ७ रजत र ४ कास्य र भलिबलमा १ कास्य जित्दै फेरि च्याम्पियन बनेको हो ।

 

अर्जुनधारापछि मेचीनगरले दोस्रो स्थान हासिल गरेको छ । उसले ११ स्वर्ण, १२ रजत र १३ कास्य प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको हो । मेचीनगरले सर्वाधिक उसुमा ५ स्वर्ण प्राप्त गर्दा एथलेटिक्समा ४ स्वर्ण, भलिबल र करातेमा १-१ स्वर्ण जित्न सफल बन्यो ।

 

यसैगरी, तेस्रो स्थानमा बिर्तामोड नगरपालिका रह्यो । उसले ८ स्वर्ण, ८ रजत र १३ कास्य पदक जित्दै तेस्रो बनेको हो । उसका लागि सर्वाधिक उसुमा ४ स्वर्ण जितेको छ । यस्तै, कराते र एथलेटिक्समा २-२ स्वर्ण जितेको हो ।

 

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरुमा ४१८ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जिल्लाभरिका १८ वर्षमुनिका छात्रछात्रा गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को अध्यक्षतामा भएको समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, विभिन्न कार्यालयका प्रमुख, संघसंस्थाका प्रतिनिधिलगायतले विजेताहरुलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।