फिदिम । झापा ११ एफसी यहाँ जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा ११ छैटाैं झापा गाेल्डकपकाे तयारीमा रहेकाे घरेलु टाेली हाे ।

 

फिदिम माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष एफसीलाई १-० गोलले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

झापा ११ का लागि निर्णायक गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रदिप बुढाथोकीको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको २४औँ मिनेटमा पाएको फ्रिकिकमा निकेश श्रेष्ठको प्रहारमा प्रदिपले गोल गरेका हुन् ।

 

आजको खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद ५ हजार पाए । फ्यान अफ दी म्याच झरना खवास भइन् । उनले नगद २ हजार ५ सय पाए ।

 

हिजोदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा आयोजक पाँचथर क्लबले जित दर्ता गरेको थियो । सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३-० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो । उसका लागि शुकराज लिम्बूले ह्याट्रिक पूरा गरेका थिए ।

 

ए डिभिजन क्लब त्रिभुवन आर्मी सहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ । गोल्डकपको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।