झापा । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

 

सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले बताए । अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको लम्सालले जानकारी दिए ।

 

उनले भने, ‘दसैंताका बुवा घरमै लड्नु भएपछि उहाँ आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा सुधारसमेत भइरहेको थियो । तर, सोमबार एक्कासी अक्सिजन लेभल घटेपछि उहाँलाई म र स्वरूप दाइ मिलेर मेडिसिटी अस्पताल लैजाँदै थियौँ । त्यही क्रममा उहाँको निधन भएको हो ।’ समयमै अस्पताल पु¥याए पनि चिकित्सकले ‘ब्रट डेड’ घोषणा गरेको लम्सालले बताए ।

 

०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् । आचार्यको पार्थिव शरीर सोमबार अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जलि कार्यक्रम गरिने लम्सालले बताए । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति छन् ।