झापा । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो ।

 

वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोलले हराएको थियो । त्यस्तै दोस्रो खेलमा इराकलाई ५-० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोलले हराएको थियो ।

 

नेपाल र लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ ।

 

आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीबार खेल्नेछन् ।