अर्जुनधारा । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपाल र सहिद स्मृति उद्यानको आयोजनामा भएको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शनिश्चरे मावि प्रथम भएको छ ।

 

५१औँ सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजना भएको प्रतियोगितामा नगरका ९ वटा माविका विद्यार्थीले सहभागिता जनाएका थिए । शनिश्चरेले ३० अंक प्राप्त गर्दै प्रथम भएको हो ।

 

यसैगरी, लक्ष्मी मावि, कालिस्थान मावि र अर्जुनधारा संस्कृति माविले समान २५-२५ अंक ल्याएका थिए । निर्णायकले तीन माविलाई पुनः प्रतियोगितामा समावेश गर्दा लक्ष्मी मावि दोस्रो र कालिस्थान मावि तेस्रो भयो । अर्जुनधाराले सान्त्वना पुरस्कार जितेकाे छ ।

 

उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका अध्यक्ष अर्जुन राई थिए । प्रतिष्ठानका सदस्य कमल गुरागाइँले कार्यक्रममा स्वागत गरेका थिए ।

 

झापाको खुदुनाबारी र इलामको दानाबारी नजिकैको सुखानी जंगलमा रहेको सुखानी खोलामा २०२९ साल फागुन २१ गते कम्युनिष्ट नेताहरुलाई तत्कालिन शासकले जेल सार्ने बहानामा हत्या गरेका थिए । सोही दिनको स्मृतिमा सुखानी स्मृति दिवस मनाउने गरिएकाे छ ।