शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ को कार्यालयले शनिश्चरे बहुमुखी क्याम्पसलाई १ लाख ५० हजारबराबरको पाठ्यपुस्तक उपलब्ध गराएकाे छ ।

 

वडाको शैक्षिक सुधार कार्यक्रमअन्तर्गत स्वीकृत बजेटबाट पाठ्यपुस्तक प्रदान गरिएको हो । अर्जुनधारा ७ मा रहेको नगरकै एकमात्र क्याम्पसमा अर्जुनधारा १ का मात्र ९० जना विद्यार्थी अध्ययनरत छन् ।

 

क्याम्पसमा ६ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । तर, क्याम्पसको पुस्तकालमा पुस्तक अभावमा विद्यार्थीले आलोपालो गरेर बढीमा २ वटामात्र पुस्तक अध्ययनका लागि लिन पाउँथे ।

 

अब १ नम्बर वडाका विद्यार्थीले थप २ वटा पुस्तक अध्ययनका लागि उपलब्ध हुने क्याम्पस प्रमुख मोहन ओलीले जानकारी दिए । १ नम्बर वडा कार्यालयले ३१८ थान पुस्तक उपलब्ध गराएर राहत प्रदान गरेको उनको भनाइ छ ।

 

वडाध्यक्ष उपेन्द्र बस्नेतले शिक्षण संस्थामा हुने पुस्तक अभावलाई मनन गरी शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराएको बताए । शिक्षा सुधार्न वडाले कर्तव्य पूरा गरेको बताउँदै अब विद्यार्थीले पनि आफ्नो दायित्व सम्झनुपर्नेमा जोड दिए ।

 

वडाले आगामी वर्षमा पनि सबै विद्यार्थीलाई उपलब्ध हुनेगरी पुस्तक प्रदान गर्न प्रतिबद्ध रहेको पनि वडाध्यक्ष बस्नेतले सुनाए । संक्षिप्त कार्यक्रमका वक्ताहरुले सबै वडाबाट क्याम्पसलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

 

स्ववियू सभापति विशाल थापाले स्वागत र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हेमराज खरेलको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य मदन लिमेलले आफ्नो भनाइ राखेका थिए ।