बिर्तामोड । झापा गोल्डकपको छैटौ संस्करणमा आज महिलाहरुका लागि आयोजकले नि:शूल्क प्रवेश गराउने व्यवस्था गरेको छ ।

 

झापाको बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा जारी अर्ना छैटौ झापा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबारको खेल फुटबलप्रेमी महिलाहरुले निःशुल्क हेर्न पाउने भएका हुन् ।

 

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा समस्त आमा, दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै फागुन २५ गते शुक्रबार हुने त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसीको सेमीफाइनल खेल निःशुल्क हेर्ने व्यवस्था मिलाइएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।

 

महिलाहरुलाई फुटबल खेलप्रति आकर्षित गराउन, नारी दिवसलाई उल्लासमय बनाउन र महिलाहरुप्रति सम्मान गर्दै महिलाहरुलाई निःशुल्क खेल हेर्ने अवसर प्रदान गरेको उनले बताए ।

 

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै आमा, दिदिबहिनीहरुलाई उनले आग्रह गरेका छन् ।

 

सेमिफाइनल खेल हेर्नका लागि आयोजकले ३ सय रुपैयाँ टिकट दर तोकेको छ । यसअघि भएका प्रिक्वाटर र क्वाटरफाइनल खेलका लागि २ सय रुपैयाँ टिकट दर रहेको थियो ।

 

आजदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुनेछन् । त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, झापा ११ एफसी र चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा पुगेका छन् । फागुन २८ गते हुने फाइनल खेलको विजेताले नगद १३ लाखसँगै आकर्षक ट्रफी र उपविजेताले ७ लाख रुपैयाँ पाउने छन् ।