धरान । २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी)ले जितेको छ । मोरङ फुटबल सङ्घलाई २-१ गोलले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो ।
यो संगै १६ वर्षपछि एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको उपाधि उचालेको एनआरटीले २४औँ संस्करणमा आइपुग्दा दोस्रो पटक उपाधि उचालेको हो ।
उपाधि जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख हात पारेको छ । पहिलोपटक फाइनलमा पुगेको मोरङले उपविजेतामा चित्त बुझाउँदै नगद ५ लाख प्राप्त गर्यो ।
निर्धारित ९० मिनेटको खेलमा एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अफिजले रोशन रानाको पासमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको ४४औँ मिनेटमा उमेश कार्कीले गोल गर्दै पहिलो हाफ सकिँदासम्म मोरङले खेललाई बराबरीमा ल्याएको थियो । खेलको ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गोल गर्दै इतिहास रच्ने दाउमा रहेको मोरङलाई स्तब्ध बनायो ।
खेलको सर्वोकृष्ट खेलाडी एनआरटीका सनम लिम्बू घोषित हुँदै नगद १ लाख हात पारे । हाइस्कोरर एनआरटीका ओफिज ओलावाले र सरोज तामाङसँगै मोरङका उमेश कार्की घोषित हुँदै नगद ३५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
यस्तै बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, वेस्ट गोलकिपर एनआरटीका पूजन होना, वेस्ट कोच एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही नगद २५-२५ हजार प्राप्त गरे । खेलको म्यान अफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।