बिर्तामोड । नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ ।

 

बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र खेलमैदानभित्र खेलकुदबाहेकका गतिविधि गर्न निषेध गर्ने निर्णय गरेको हो ।

 

समितिले खेलकुदबाहेकका कार्यक्रमका लागि रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

 

हाल देवी गुठीको मातहतमा रहेको रंगशाला भएको जग्गा केही व्यापारीले व्यक्तिगत समेत बनाएका छन् । तर, उनीहरुले भोगचलन गर्न भने सकेका छैनन् ।

 

सोही जग्गामा २०७२ सालदेखि स्थानीय सामाजिक व्यक्तित्व जलकुमार गुरुङको अगुवाईमा खेलमैदानको संरक्षण हुँदै आएको छ । साथै, सोही वर्षदेखि झापा गोल्डकप सञ्चालन हुँदै आएको छ ।

 

खेलमैदानको जथाभावी प्रयोग हुँदा तथा संरक्षण नहुँदा मैदान मर्मतका लागि प्रत्येक वर्ष गोल्डकपको समयमा दस लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।