झापा । भर्खरै सम्पन्न झापा गोल्डकपको छैटौँ संस्करणमा प्रयोग गरिएका विद्युतीय सामग्रीसहित विभिन्न सामग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

 

मोफसलको सर्वाधिक लोकप्रिय झापा गोल्डकप सफल बनाउन बिर्तामोड नगरपालिका क्षेत्रमा प्रयोग गरिएका विद्युतीय उपकरण, फोहोर फाल्न प्रयोग गरिने डस्विन र सजावटका लागि प्रयोगमा ल्याइएका फूलसहितका गमला नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

 

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई झापा गोल्डकपले प्रयोगमा ल्याएको उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

 

शुक्रबार नगरपालिका पुगेर झापा गोल्डकपका अध्यक्ष बस्नेत, महासचिव गजेन्द्र प्रौडेलसहितको टोलीले मुक्तिचोकदेखि रंगशालासम्म पुग्ने सडकमा जडान गरिएका २२५ वटा पोलमा रहेका विद्युतीय बत्ती, ८० वटा डस्विन र फूलसहितको ५५ वटा गमला नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

 

भौतिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न आग्रह गर्दै अध्यक्ष बस्नेतले उपप्रमुख संग्रौलालाई आग्रह गरे । झापा गोल्डकपले बिर्तामोड नगरपालिकालाई मात्र नभई समग्र झापा जिल्लालाई नै चिनाएको भन्दै उक्त समयमा प्रयोग भएका सजावटका सामग्रीसहित रंगशालाको संरक्षण र सम्वद्धन दायित्व नगरपालिकाको भएको अध्यक्ष बस्नेतको भनाइ छ ।

 

झापा गोल्डकपले प्रदान गरेका सामग्री ग्रहण गर्दै उपप्रमुख संग्रौलाले गोल्डकपले प्रदान गरेका सामग्रीको संरक्षण अब नगरपालिकाले गर्ने दाबी गरे । उनले नगरका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उक्त सामग्रीहरुलाई प्रयोगमा ल्याइने प्रतिवद्धतासमेत जनाएका छन् ।