ताप्लेजुङ । डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ ।

 

आइतबार भएको फाइनल खेलमा डाँडाबजार धनकुटालाई २-० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । धरानका लागि दुवै गाेल सागर तिवारीले गाेल गरेका हुन् ।

 

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका ५ चाँगेमा सञ्चालित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितसँगै मरिक फुटबल क्लबले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको डाँडाबजार धनकुटाले एक लाख २० हजार रुपियाँ चित्त बुझायो ।

 

चाँगेको माछापोखरी हिटी क्लबको आयोजनामा चैत ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगितामा धरान, धनकुटा, संखुवासभा, तेह्रथुमको दुई र स्थानीय तीनसमेत आठ टोली सहभागी भएका थिए ।