काठमाण्डौ । आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो ।

 

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १२७ रनमात्र बनाउन सक्यो । उसका लागि स्टेफेन डोनीले २६ र मोर्गन टपीङले २१ रन बनाए ।

 

बलिङतर्फ नेपालका सोमपाल कामी र कुशल मल्लले सामान तीन तीन विकेट लिए । यस्तै करन केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक एक विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका गुल्शन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र कुशल भुर्तेलले २५ रन बनाए ।

 

आयरल्याण्ड उल्भ्सका म्याथु फोस्टरले तीन विकेट लिएका थिए । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले हराएको थियो ।