झापा । एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ मा नेपालले मंगलबार राति लगातार हारको क्रमलाई रोक्न सकेन । रिफाको नेसनल स्टेडियममा भएको खेलमा नेपाल बहराइनको हातबाट ३-० ले पराजित रह्यो ।

 

एसियाकप छनोट पनि रहेको यस खेलमा नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो । यो खेल बहराइनको ‘होम म्याच’ रह्यो । त्यस अगाडि आफ्नो ‘होम म्याच’ का रूपमा भएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित रहेको थियो ।

 

बहराइनले हात पारेको यसपल्टको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले गोल गरे । छनोटमा नेपालको यो लगातार चौथो हार हो । यससँगै नेपाल बिना कुनै अंक समूहको पुछारमा छ ।

 

यसै समूहको अर्को खेलमा यूएईले यमनलाई ३-० ले हरायो । सबै चार खेल जितेर यूएई १२ अंकसहित शीर्षमा छ । बहराइनको भने नौ अंक भएको छ । यमनको तीन अंक छ । अब छनोटका बाँकी दुई खेलमा नेपालले यूएई र यमनको सामना गर्नेछ ।