बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ ।

 

मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो ।

 

बिर्तामोडमा आयोजना हुने अवार्ड २०७९ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव तथा खेल प्रतिभा छनोट उपसमिति संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

 

अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । कोशी प्रदेशमै पाँचौँपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

 

विगतका वर्षमा जस्तै यसपटक वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट युवा वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, स्पेशल अचिभमेन्ट अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी सात विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

 

यो वर्षदेखि एउटा विधा थप गरिएको मञ्चका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए । पाँचौँ संस्करणमा एकजना खेलकुद पत्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्डसमेत प्रदान गरिने उनले बताए ।

 

वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ । स्पेशल अचिभमेन्ट अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट खेलकुद पत्रकार अवार्डको विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

 

वर्ष खेलाडी पुरुष र महिला विजेतालाई नगद एक लाख, ट्रफी प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस र स्पेशल अवार्ड विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम अचिभमेन्ट अवार्ड विजेतालाई नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।

 

पत्रकार भेटघाट कार्यक्रममा संस्थापक अध्यक्ष रमेश समदर्शीले अवार्ड सुरु गर्दाका अनुभव सुनाएका थिए । संस्थापक अध्यक्ष समदर्शीको नेतृत्वमा २०६६ सालमा मञ्च स्थापना भएको थियो ।

 

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

 

अवार्डलाई सफल बनाउन अध्यक्ष इन्द्रजीत मुखियाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मूल आयोजक समितिका सदस्य रहनेछन् । मञ्चका सचिव चिरञ्जीवी घिमिरेको संंयोजकत्वमा खेल प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा पुष्प बराल र राजु पौडेल छन् ।

 

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष प्रेम आचार्यको संयोजकत्वमा भूमिका सुब्बा र तीर्थ तिम्सिना सदस्य रहेको अतिथि सत्कार तथा स्वागत उपसमिति, कोषाध्यक्ष प्रकाश बानियाँको संयोजकत्वमा प्रेम आचार्य र तिलक योञ्जन सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ ।

 

यस्तै, सहसचिव भूमिका सुब्बाको संयोजकत्वमा रोहित काफ्ले र आयुश निरौला सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति र कार्यसमिति सदस्य तिलक योञ्जनको संयोजकत्वमा भारती राई, सौरभ मुखिया, नारायण अर्याल, विष्णु श्रेष्ठ र सौरभ सुनुवार सदस्य रहेको प्राविधिक उपसमिति गठन गरिएको संयोजक खरेलले जानकारी दिए ।