सुनसरी । चर्च ब्वाइज युनाइटेड क्लबले १४औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा गत संस्करणको उपविजेता चर्च ब्वाइजले त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि जित्यो ।

 

इटहरी गोल्डकपको चौथो सहभागितामा विजेता बनेको चर्च ब्वाइजले उपाधिसँगै १० लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता आर्मीले ५ लाख पायो । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले आर्मीका गोलकिपरको कमजोरीको फाइदा उठाउँदै खेलको तेस्रो मिनेटमा गोल गरेका हुन् ।

 

उनले पोस्टभन्दा अघि बढेका आर्मीका गोलकिपर विकेश कुथुलाई छक्याएर लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो । उनी म्यान अफ द फाइनलसमेत भए । उनले १० हजार पाए ।

 

सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार भए । उनले १ लाख रुपैयाँ पाए । उत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ चुनिए ।

 

यसैगरी, उत्कृष्ट मिडफिल्डर चर्चका सुरजज्यू ठकुरी, उत्कृष्ट प्रशिक्षक चर्चकै दर्शन भक्तराज चुनिए । उनीहरूले जनही २० हजार पाए । सर्वाधिक गोलकर्ता डिफेन्डिङ च्याम्पियन सगरमाथाका विमल घर्तीमगर भए ।