शनिश्चरे । झापाको अर्जुनधारामा जारी झापा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा गोर्खा स्पोर्टिङ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जित दर्ता गर्दै समूहको शीर्ष स्थानमा उक्लिएका छन् ।

 

नमुना खेलमैदानमा आज भएको पहिलो खेलमा दमक भाङबारी एफसीलाई २-० गोलले पराजित गर्दै गोर्खा स्पोर्टिङले ३ अंक जोड्न सफल भयो ।

 

गोर्खाका लागि अमितसन सतार र उज्ज्वल राईले गोल गरेका हुन् । समूह क मा रहेको दमक भाङबारीलाई पराजित गरेसँगै गोर्खा स्पोर्टिङ ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । खेलको म्यान अफ दी म्याच अमितसन सतार भए ।

 

यसैगरी, समूह ख मा रहेको काँकरभिट्टाले साविक लिग विजेता शनिश्चरे एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

 

शनिश्चरेविरुद्ध १-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै काँकरभिट्टाले महत्वपूर्ण ३ अंक जोड्यो । काँकरभिट्टाका लागि मानव पौडेल र हिरन राजवंशीले गोल गरे ।

 

शनिश्चरेका प्रविण विश्वकर्माले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि लामो समय अग्रता जोगाउन सकेन । जितसँगै ६ अंकका साथ काँकरभिट्टा शीर्ष स्थानमा रहँदा शनिश्चरे ३ अंकका साथ दोस्रो स्थानमा छ । खेलको म्यान अफ दी म्याच हिरन राजवंशी भए ।

 

भोलि नै २ वटा खेल रहेको छ । झापा जिल्लास्तरीय ए डिभिजन लिगमा झापाका ८ वटा टोली सहभागी छन् । लिगको फाइनल खेल जेठ ३ गते हुनेछ ।

 

अंकका आधारमा २ टोली रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछन् । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’का अनुसार लिग च्याम्पियन टोलीले नगद ५० हजार र उपविजेता टोलीले नगद ३० हजार पाउने छन् ।