शनिश्चरे । झापाको अर्जुनधारा जेसीजले नगरभरिका ३६ जना विद्यार्थीलाई आधारभूत कम्प्युटर तथा अंग्रेजी भाषा कक्षा निःशूल्करुपमा उपलब्ध गराएको छ ।
जेठ १ गतेदेखि सञ्चालन हुने कम्प्युटर र भाषा कक्षाको आज औपचारिकरुपमा कार्यवाहक नगर प्रमुख तथा अर्जुनधारा २ का वडाध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरे । विद्यार्थीका लागि स्थानीय सरकारले गर्नुपर्ने काम अर्जुनधारा जेसीजले गरेको भन्दै प्रमुख अतिथि श्रेष्ठले प्रशंसा गरे ।
अर्जुनधारा नगरका ११ वटै वडाका विपन्न तथा एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कक्षा सञ्चालन गरिएको जेसीज अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कम्प्युटर कक्षामा ३० जना र अंग्रेजी भाषा कक्षामा ६ जनाले सहभागिता जनाएका छन् । जेसीजको पहलमा ५ वटा तालिम प्रदायक संस्थासँग समन्वय गरी विद्यार्थीलाई तालिममा सहभागी गराइएको उनको भनाइ थियो ।
कम्प्युटर कक्षाका लागि शनिश्चरेको फरवार्ड एजुकेशनले १५ जना, आइआइएचटीले ५ जना, एनआइसी बिर्तामोडले ५ जना, बिर्तामोड एजुकेशन फाउण्डेशनले १० जना विद्यार्थीलाई निःशूल्क कक्षा उपलब्ध गराउने जेसीजसँग सम्झौता गरेका छन् ।
यस्तै, ड्रिम एजुकेशन बिर्तामोडले १० जना विद्यार्थीलाई अंग्रेजी भाषा कक्षा उपलब्ध गराउने सम्झौता भएको छ । तर, ६ जना विद्यार्थीले मात्र इच्छा व्यक्त गरेको जेसीजका महासचिव मनोज सिटौलाले जानकारी दिए । ती संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत जेसीजसँग सहकार्य गरेका हुन् ।
नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवरले युवाहरू अग्रपंक्तिमा समेटिने संस्था जेसीज भएकाले विभिन्न क्षेत्रका जेसीकाे भूमिका महत्वपूर्ण रहँदै आएको उल्लेख गरे ।
उनी अर्जुनधारा जेसीजकाे नेतृत्व सम्हालेर अहिले नेपाल जेसीजकाे समूह (क) मूख्य भूमिकामा जिम्मेवारी सम्हालिरहेका छन् । अर्जुनधारा जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सागर घिमिरेले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष विमला भट्टराईले जेसीज आस्था वाचन गरेकी थिइन् ।
सामाजिक, व्यावसायिक, अन्तर्राष्ट्रिय र व्यक्तिगत क्षेत्रमा काम गर्दै आएको जेसीजसँग सहकार्य गर्न नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी तयार रहेको भन्दै अध्यक्ष मुकुन्द भण्डारीले शुभकामना व्यक्त गरेका थिए ।