शनिश्चरे । नेपाली समाजमा र घरपरिवारमै प्रयोगबाट हराउँदै गएको सामग्री विद्यार्थीको जानकारीका लागि प्रदर्शन गरिएको छ । कतिपय लाेप हुँदै गएका सामग्री प्रत्यक्षरूपमा विद्यार्थीको जानकारीका लागि प्रदर्शन गरिएको हाे ।

 

झापाको बुद्धशान्ति ४ स्थित ऐतिहासिक मिनी म्यूजियम प्रालिसँगको समन्वयमा अर्जुनधारा ६ कप्तानवारीमा रहेको देवी पाथीभरा अङग्रेजी विद्यालयले आफ्ना विद्यार्थीका लागि एकदिने प्रदर्शनी राखेको हो ।

 

किताबी ज्ञानसँगै व्यावहारिकरुपमा प्रयोगमा आउन छाडेका, पाठ्यपुस्तकमा मात्र पढाइने त्यस्ता सामग्रीका बारेमा पनि जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको विद्यालयका संस्थापक राजेशकुमार आचार्यले जानकारी दिए ।

 

प्रदर्शनीमा विभिन्न जातजातिले प्रयोग गर्ने मौलिक सामग्री, परम्परागत कृषि सामग्री, परम्परागत हातहतियार, विभिन्न काठ र बाँसबाट तयार गरिएका हस्तकलाका सामग्री, बत्ती बाल्न तथा नापतौलमा प्रयोग हुने सामग्री, धार्मिक एवम् विद्युतीय सामग्री र पुस्तकहरु आदि राखिएका थिए ।

 

त्यसैगरी प्रदर्शनीमा नेपालमा शासन गर्ने शाह वंशका राजाहरु, राष्ट्रिय विभूति, शहीदलगायतको तस्वीर पनि राखिएको थियो । ‘इतिहास र परम्परासँग परिचित हौं’ भन्ने मुख्य नारासहित स्थापना भएको उक्त म्यूजियमका लागि सबै सामग्रीहरु जुटाइएको बताइएको छ ।

 

म्यूजियमका सञ्चालक एवम् स्थानीय मुना मदन एकाडेमीका संस्थापक चेतन ढुङ्गेलका अनुसार प्रदर्शनीमा पुरातत्व विभागले सूचीकृत गरेको सामग्रीसहित ३०३ वटा वस्तु राखिएको थियो । उक्त सामग्री संकलन गर्न चार महिना लागेको सञ्चालक ढुङ्गेलले जानकारी दिए ।

 

प्रदर्शनीका सहभागीहरुलाई म्यूजियमका तर्फबाट सहजकर्ताहरु राम महत, नारायण दाहाल, मनिकुमार भूजेल, मनोज थपालिया र कृषला केदेम लिम्बूले सहजीकरण गर्ने गरेका छन् । यस किसिमको कार्यक्रमले विद्यार्थीहरुमा प्रोजेक्ट बेस्ड लर्निङको सिकाइ प्राप्त हुने हुँदा उनीहरुलाई सहज हुने प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाले बताए ।

 

प्रदर्शनीमा सहभागी विद्यार्थीहरुले चासोपूर्वक अवलोकन गरेका थिए । उनीहरुले नयाँ कुरा देख्न र प्रत्यक्षरुपमा अनुभव गर्न पाएको प्रतिक्रिया दिएका छन् । उनीहरुले किताबबाट भन्दा पनि संकलन गरिएको सामग्रीबाट बढी ज्ञान लिन पाएकोमा खुसी व्यक्त गर्दै प्रदर्शनीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

 

विद्यार्थी, अभिभावक, प्याब्सनमा आबद्ध पदाधिकारी तथा सदस्यसहित ३५० जनाले उक्त प्रदर्शनीको अवलोकन गरेको विद्यालयका संस्थापक आचार्यले जानकारी दिए ।