काठमाडौं । मोफसलका दुई क्लब बागमती युवा क्लब र आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् । बागमती दुई खेल खेल्न बाँकी छँदै शीर्ष स्थानमा रहेकाे छ ।

 

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस क्लब सानेपासँग २-१ ले पराजित भएपछि आरसी ३२ र बागमती एक खेलअगावै सहिद स्मारक ‘सी’ डिभिजन लिगबाट बढुवा भएका हुन् ।

 

सर्लाहीको बागमतीको ११ खेलबाट २६ अंक छ । बागमतीले अझै दुई खेल खेल्न बाँकी छ । सुर्खेतको आरसी ३२ ले १२ खेलबाट २३ अंक जोडेको हो । दुबै क्लब पहिलो पटक ‘बी’ डिभिजनमा बढुवा भएका हुन् । बागमती भने एकैपटक बढुवा भयो । आरसी ३२ ले दुई सिजन ‘सी’ डिभिजन लिग खेल्यो ।

 

त्रिकोणात्मक प्रतिस्पर्धामा पराजित भएपछि १२औं चरणमा पुल्चोकको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आरसी ३२ लाई दुई खेलमा जरिवानासहित चार अंक खोसे पनि बढुवा हुन सफल भयो ।

 

एन्फाले नियमविपरीत खेलाडी अनुबन्ध गरेर खेलाएको भन्दै आरसीको दुई खेलको नतिजा उल्टाएको थियो । मंगलबार नै भएको खेलमा आरसी ३२ ले रानीवन स्पोर्टस क्लबलाई ५-० ले हराएको थियो ।