धरान । राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित भएकी छन् । शनिबार किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाको अवसरमा कार्यक्रममा खेलाडी राईलाई सम्मान गरिएको हो ।

 

यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, नगरप्रमुख हर्कराज राई, निवर्तमान नगरप्रमुख तिलक राईलगायतले दोसल्ला ओढाएर एक लाख आठ हजारसहित सम्मानपत्रले उनलाई सम्मान गरे ।

 

यसैगरी, खेलाडी राईसँगै अन्य विधाको व्यक्तित्वहरू राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।

 

प्रीति राई नेपालको राष्ट्रिय महिला फुटबलकी प्रभावशाली खेलाडी भएको भन्दै नगरप्रमुख राईले प्रशंसा गरे । अझै धेरै नेपालको नाम राख्न सफल हुन अग्रिम शुभकामना दिँदै खेलाडीहरूलाई हौसला प्रदान गर्न सरकारले व्यवस्थित गर्न जरुरी रहेको उनले सुनाए ।