
ताप्लेजुङ। मेरिङ्देन गाउँपालिका ४ को प्रगतिशील युवा क्लब लिङ्तेप ताप्लेजुङ जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । मैवाखोला गाउँपालिकाको लालिमा युवा क्लब ढुङ्गेसाँघुलाई पराजित गर्दै लिङ्तेपले उपाधि जितेको हो।
आठराई त्रिवेणी गाउँपालिकाको प्रायोजन तथा ताप्लेजुङ जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा प्रगतिशील युवा क्लबले ३-१ को गोलअन्तरले पराजित गर्दै नगद ५० हजार र ट्रफी पायो । यस्तै उपविजेता बनेको लालिमा युवा क्लबले नगद २५ हजार पुरस्कारमा चित्त बुझाएको छ ।
‘ए’ डिभिजन लिगअन्तर्गत फुटबल प्रतियोगिता आठराई त्रिवेणी गाउँपालिका ५ को चाँगे माध्यमिक विद्यालय खेलमैदानमा २१ गतेदेखि सुरु भएको थियो । फुटबल सङ्घका अध्यक्ष अशोक चेम्जोङका अनुसार मानाभरा यूथ स्पोर्टिङ क्लब खेजेनिम र माछा पोखरी हिटी क्लब चाँगे ‘बी’ डिभिजनमा घटुवा भए ।