शनिश्चरे । झापाको अर्जुनधारा नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । करिब डेढ महिनाअघि समितिको संयोजक तोकिएको थियो ।

 

नगरपालिकाले समितिको संयोजकमा अर्जुनधारा ८ का सुरेन्द्र धिमाललाई तोकेको थियो । धिमालको संयोजकत्वमा १३ सदस्यीय समितिले पूर्णता पाएको हो । जसको सदस्य सचिवमा अर्जुनधारा ३ का सचिव खगेन्द्र लिङदेन रहेका छन् ।

 

यसैगरी, समितिको सदस्यमा अर्जुनधारा १ की पूजा सुवेदी, २ का तिलक योञ्जन, ३ का मनोज सिटौला, ४ का विशेष आछामे र दिपेन दनुवार, ७ का भीम काफ्ले, ८ का निशा मोक्तान, ९ का हेमलाल परियार र सुरेन राई, १० का बबिन लिम्बू र ११ का विराज सुवेदी रहेका छन् ।

 

पूर्णता पाएको समितिका संयोजक, सदस्य सचिव र सदस्यहरुलाई नगर प्रमुख बलदेवसिं गोम्देनले कार्यकाल सफलताको शुभकामना दिँदै समग्र खेलकुदको विकास लाग्न निर्देशन दिए ।

 

खेलकुदको हबका रुपमा नगर अघि बढिरहेको सन्दर्भमा खेलकुद समितिको निर्माण पछि समृद्ध नगरको परिकल्पनामा थप टेवा मिल्ने उनको विश्वास थियो । सबै खेलकुद गतिविधिलाई चलायमान बनाउन उनले आग्रह पनि गरे । जनप्रतिनिधि संयोजक रहने समितिको कार्यविधि संशोधन गर्दा समिति गठन गर्न केही ढिला भएको नगर प्रमुख गोम्देनले जानकारी गराए ।

 

समितिको पहिलो बैठकले नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै विभिन्न निर्णय पारित गरेको समितिका सदस्य सचिव लिङदेनले जानकारी दिए । औपचारिक कार्यक्रममा नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयाेजक सन्ताेष मेचे, लक्ष्मी मावि व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतको उपस्थिति थियो ।