झापा (एजेन्सी) । वर्षाका कारण नेपाल र श्रीलंकाबीच ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गतको खेल रद्द भएको छ । मंगलबार बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द हुन पुगेको हो ।
निर्धारित समयअनुसार साँझको ७ः३० बजे खेल सुरु हुने तालिका रहेको थियो । तर, बिहानदेखि परेको वर्षा नरोकिएपछि साँझ ८ः३० बजे खेल रद्द भएको आधिकारिक घोषणा गरिएको थियो । त्यसपछि नेपाली राष्ट्रिय टोलीले ठूलो संख्यामा उपस्थित दर्शकलाई मैदानको चारैतिर पुगेर अभिवादन गरेका थिए ।
खेल रद्द भएसँगै दुवै टोलीलाई १-१ अंक प्रदान गरिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने लगभग निश्चितजस्तै भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो
नेपाली टोली बुधबार वेस्ट इन्डिज लाग्ने छ । नेपालले क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।