एजेन्सी । नेपालले ट्वान्टी २० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल आज बिहान सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो ।

 

१ सय १६ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा विजयका लागि २ रन चाहिने अवस्थामा ओटनेइल बार्टमानको बलका विट भएका गुलशन झा रन आउट भए ।

 

आसिफले ४९ बलमा ४२ रन बनाएका थिए । कागिसो रबाडाको बलमा शून्य रनमा कट एन्ड बोल्ड क्याच हुनबाट जोगिएका आसिफले ४ चौका र १ छक्का प्रहार गरे । गुलशनले ६ बलमा ६ रनमात्र बनाउन सके । सोमपाल कामी ४ बलमा ८ रन बनाइ अविजित रहे ।

 

दक्षिण अफ्रिकाको यो लगातार चौथो विजय हो । पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको दक्षिण अफ्रिकाले नेपालविरुद्ध पूर्ण टोली उतारेको थियो । नेपाल यस हारपछि समूहचरणबाटै बाहिरिएको छ । नेपालले बंगलादेशसँग आइतबार समूहचरणको अन्तिम खेल खेल्नेछ ।