झापा । झापाको फुटबल टिम तेह्रथुमको म्याङलुङ रंगशालामा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा ओखलढुंगासँग टाइब्रेकरमा पराजित भएसँगै झापाको यात्रा समाप्त भएको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेले पनि तीन खेलाडी टाइब्रेकरमा चुक्दा झापा स्तब्ध बन्यो ।
निर्धारित खेलमा बालकृष्ण राईले गोल गरेर ओखलढुंगालाई अग्रता दिलाएका थिए । तर, झापाका लागि प्रदिप बुढाथाेकीले बराबरी गोल गरेका थिए ।
तर, टाइब्रेकरमा झापाका पुजन श्रेष्ठ र निशान्त तामाङको प्रहार आकासिँदा प्रदिप बुढाथोकीको प्रहार ओखलढुंगाका गोलरक्षक चन्द्रसुन्दर श्रेष्ठले रोकेका थिए । फाइनल प्रवेशका लागि ओखलढुंगाका मार्वल राई, राजु राई र सचिन राईले गोल गरेका थिए ।
यसैबीच, पहिलो सेमिफाइनल खेलमा मोरङले जित दर्ता गर्दै फाइनल प्रवेश गरेको थियो । पाँचथरलाई २-० गोलले पराजित गर्दै मोरङले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।
असार ३ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल ८ गते हुनेछ । प्रदेशका १४ टीम सहभागी प्रतियोगिताको विजेताले ३ लाख ३३ हजार ३३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैया प्राप्त गर्नेछ।