तेह्रथुम । सदरमुकाम म्याङलुङ रंगशालामा आयोजित कोशी प्रदेश स्तरीय अन्तरजिल्ला पुरूष फुटबल प्रतियोगितामा मोरङ जिल्लाको फुटबल टिम च्याम्पियन बनेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा ओखलढुंगाको पुरुष फुटबल टिमलाई २-० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङका लागि अशोक खवास र साइमन लिम्बूले एक एक गोल गरे ।
उपाधिसँगै मोरङले ३ लाख ३३ हजार ३३३ रूपैयाँसहित ट्रफी पायो भने उपविजेता ओखलढुंगाले २ लाख २२ हजार २२२ रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका सुशिल राई, उत्कृष्ट मिडफिल्डर ओखलढुंगाका मानष राई, वेष्ट डिफेन्डर मोरङका अशोक खवास, वेष्ट फरवार्ड मोरङका सुशिल राई भए ।
यसैगरी, वेष्ट गोलकिपर मोरङका पूर्ण चेम्जोङ, म्यान अफ द म्याच मौषम लिम्बू, उदीयमान खेलाडी तेह्रथुमका अप्सन लिम्बू र उत्कृष्ट प्रशिक्षक मोरङका प्रकाश मल्ल घोषित भए। उनीहरू सबैले जनही ११ हजार १११ सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
असार ३ गते सुरु भएको प्रतियोगितामा प्रदेशका १४ टीम सहभागी थिए । पहिलो सेमिफाइनल खेलमा मोरङले पाँचथरलाई २-० गोलले पराजित गर्दै मोरङले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको थियो ।