झापा (एजेन्सी)। नेपाली महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। पुरूषतर्फ भने उपविजेतामा खुम्चिएकाे छ ।

 

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा कमला पुन र मनिषा चौधरीको जोडीले उज्बेकिस्तान ए टोलीलाई २-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

 

नेपालले उज्बेकिस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको हो। सबै खेलमा अपराजित रहँदै नेपालले उपाधि जितेको हो। शनिबारै भएको सेमिफाइनलमा उज्बेकिस्तान बी टोलीलाई २१-१३, २१-१२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको थियो।

 

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमला पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो।

 

यसैबीच, नेपाली पुरुष टोलीले काभा बिच भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ। शनिबार भएको फाइनलमा माल्दिभ्स ए सँग नेपाल २-० को सोझो सेटमा पराजित हुँदै उपविजेतामा खुम्चिएको हो।

 

माल्दिभ्स ए ले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१-१९, २१-१७ ले पराजित गर्‍यो। मानबहादुर र दिलबहादुरको जोडीले दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि रजत जितेको थियो।