झापा । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मिन बस्नेतले पनि भुटानको शीर्ष फुटबल भुटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् ।

 

हाल भुटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले झापा काँकरभिट्टाका बस्नेतलाई आफ्नो गोलकिपिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।

 

यो अनुवन्धसँगै बस्नेत भुटान प्रिमियर लिगमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाउने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन् ।

 

स्मरण रहोस, फुङ्सोलिङ हिरोजको मुख्य प्रशिक्षकमा नेपालकै अनुभवी तथा युवा प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् । फुङ्सोलिङ हिरोजले नेपाली फुटबलमा अहिले चल्तीका खेलाडीमध्ये एक बिर्तामोडका आशिष चापागाईंलाई पनि अनुवन्ध गरेको छ ।

 

मिन बस्नेतले यसअघि हिमालयन शेर्पामा रहेर ए डिभिजन लिग तथा धनगढी एफसीमा आवद्ध भएर नेपाल सुपर लिगमा पनि गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।